काठमाडौं– नेपाली क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन एक दिन मात्र बाँकी रहँदा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान सजिसजाउ बनेको छ । प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन मैदानको पूर्वाधार, दर्शक व्यवस्थापन तथा सुरक्षा तयारीलाई अन्तिम रूप दिइएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी, पुरस्कार राशि, प्रविधिको प्रयोग र आर्थिक अपेक्षाबारे जानकारी दिएको छ । सोमबारदेखि सुरु हुने प्रतियोगिताले नेपाली क्रिकेटमा नयाँ उत्साह थप्ने मात्र नभई खेलकुद पर्यटन र आर्थिक गतिविधिलाई समेत गति दिने अपेक्षा गरिएको छ ।
मैदानमा नयाँ सुविधा, दर्शकको अनुभवमा सुधार
एनपीएलको अघिल्लो संस्करणमा जडान गरिएका फ्लडलाइट र दर्शकदीर्घालाई यसपटक थप संरचनागत तथा व्यवस्थापकीय सुधारले साथ दिएका छन् । दर्शकको आवतजावत सहज बनाउन मैदान वरपरका क्षेत्र सुधार गरिएको छ भने टिकट व्यवस्थापनलाई डिजिटल बनाइएको छ ।
त्यसैगरी पार्किङ व्यवस्थापन र सुरक्षामा विशेष ध्यान दिइएको आयोजकले जनाएको छ । प्रतियोगिता हेर्न कीर्तिपुर पुग्ने हजारौँ दर्शकलाई सहज वातावरण उपलब्ध गराउने लक्ष्यसहित तयारी गरिएको छ ।
विजेतालाई डेढ करोड, कुल पुरस्कार ३ करोड
तेस्रो संस्करणमा पुरस्कार राशि उल्लेखनीय रूपमा बढाइएको छ । प्रतियोगिताको विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ८० लाख रुपैयाँ पाउनेछ ।
त्यसैगरी तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । शीर्ष चार टोलीका लागि मात्रै कुल ३ करोड रुपैयाँ पुरस्कार छुट्याइएको छ ।
पुरस्कार राशिमा गरिएको वृद्धिले प्रतियोगिताको प्रतिस्पर्धात्मक स्तर र व्यावसायिक आकर्षण थप बढाउने अपेक्षा गरिएको छ ।
एनपीएलबाट डेढ अर्बको आर्थिक कारोबार हुने अनुमान
क्यानका अनुसार एक महिनासम्म चल्ने प्रतियोगिताबाट समग्रमा डेढ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।
प्रायोजन, टिकट बिक्री, प्रसारण अधिकार तथा फ्रेन्चाइज टोलीहरूको खर्चले प्रतियोगिताको आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको छ । प्रतियोगिताले होटल, यातायात, खानपान, व्यापार तथा खेलकुद सामग्रीको बजारमा समेत सकारात्मक प्रभाव पार्ने अनुमान छ ।
एनपीएल नेपाली क्रिकेटको प्रतियोगितामा सीमित नरही क्रमशः व्यावसायिक खेलकुद उद्योगका रूपमा विकास हुँदै गएको संकेत यसले दिएको छ ।
पहिलोपटक डीआरएस प्रविधिको प्रयोग
यस संस्करणको अर्को प्रमुख आकर्षण निर्णय समीक्षा प्रणाली (डीआरएस) हो। अम्पायरको निर्णयमा असन्तुष्टि भए खेलाडीले निर्धारित नियमअनुसार समीक्षा माग गर्न सक्नेछन्।
एलबिडब्लूको निर्णयमा थ्रीडी बल ट्र्याकिङ तथा ब्याट र बलबीच सम्पर्क भएको वा नभएको पहिचान गर्न एज डिटेक्सन र साउन्ड वेभमा आधारित प्रविधि प्रयोग गरिनेछ। यसले विवादास्पद निर्णयको समीक्षा गर्न र खेलको निष्पक्षता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आईसीसीको मान्यता, खेलाडीको प्रदर्शन अन्तर्राष्ट्रिय अभिलेखमा
एनपीएलको तेस्रो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ। यससँगै प्रतियोगितामा खेलाडीले बनाएका रन र लिएका विकेट आधिकारिक अन्तर्राष्ट्रिय टी–२० अभिलेखमा समावेश हुनेछन् ।
यसले नेपाली खेलाडीलाई आफ्नो प्रदर्शन अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने अवसर प्रदान गर्नुका साथै प्रतियोगिताको विश्वव्यापी पहिचान विस्तार गर्न सहयोग पु¥याउनेछ ।
८ टोलीबीच उपाधिका लागि भिडन्त
तेस्रो संस्करणमा आठ फ्रेन्चाइज टोली उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। साविक विजेता लुम्बिनी लायन्ससहित सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स मैदानमा उत्रिनेछन्।
अन्तर्राष्ट्रिय तथा नेपाली खेलाडीको सहभागिता, प्रविधिको प्रयोग, बढेको पुरस्कार राशि र मैदानमा थपिएका सुविधाले यसपटकको एनपीएललाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउने अपेक्षा गरिएको छ।
क्रिकेटप्रेमीको प्रतीक्षाबीच सोमबारबाट सुरु हुने प्रतियोगिताले मैदानभित्र रोमाञ्चक प्रतिस्पर्धा र मैदानबाहिर आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको छ। अब सबैको ध्यान कीर्तिपुरको मैदानमा केन्द्रित हुनेछ, जहाँ आठ टोलीबीचको प्रतिस्पर्धाले नयाँ च्याम्पियनको यात्रा तय गर्नेछ।
नेपाल प्रिमियर लिगको तेस्रो संस्करण सुरु हुनुअघि दर्शकका लागि थप संरचना र सुविधासहित तयार पारिएको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान । साभारः न्यूज एजेन्सीबाट
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !