काठमाडौ– गत भदौ १० गते भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटमा मानवीय क्षतिसँगै ठूलो भौतिक तथा सामाजिक संकट निम्त्याएको छ ।
बाढीको दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि क्षतिको पूर्ण हिसाब आउन सकेको छैन । तर सरकारी प्रारम्भिक मूल्याङ्कनले यी दुई जिल्लामा मात्रै हजारौँ घर, दर्जनौँ विद्यालय, सडक, पुल, जलविद्युत् आयोजना र सार्वजनिक संरचना प्रभावित भएको देखाएको छ ।
सरकारको द्रुत क्षति तथा आवश्यकता आकलनअनुसार ५ जिल्लामा गरी ७ हजार ५७० निजी घरमा क्षति पुगेको देखाएको छ ।
त्यसमध्ये नुवाकोटमा ३ हजार ९७७ र रसुवामा १ हजार ७७९ घर क्षतिग्रस्त भएका छन् । नुवाकोटका ४ स्थानीय तह र रसुवाका ४ स्थानीय तह बाढीबाट प्रत्यक्ष प्रभावित भएका छन् ।
नुवाकोटमा ४ स्थानीय तह प्रभावित, ४०५ बेपत्ता
नुवाकोटमा विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिकाका २१ वडा प्रभावित छन् । प्रारम्भिक तथ्यांकअनुसार बेलकोटगढीमा १ हजार १२७ घरधुरी, विदुरमा ५ हजार ९२८, किस्पाङमा ९३९ र तारकेश्वरमा १८५ घरधुरी प्रभावित भएका थिए ।
नुवाकोटमा जिल्ला प्रशासनको प्रारम्भिक विवरणमा ५१ जनाको मृत्यु र ४०५ जना बेपत्ता भएको उल्लेख गरिएको थियो । पछि खोज तथा उद्धारसम्बन्धी राष्ट्रिय अभिलेखमा जिल्लाबाट फेला परेका शवको संख्या बढ्दै गएको छ । पछिल्लो उपलब्ध अद्यावधिकमा नुवाकोटमा २०४ शव फेला परेको उल्लेख छ ।
रसुवामा ४ स्थानीय तह तहसनहस
रसुवामा गोसाइँकुण्ड, कालिका, आमाछोदिङ्मो र उत्तरगया गाउँपालिकाका १६ वडा प्रभावित भएका छन् ।
गोसाइँकुण्डका ५, कालिकाको एक, आमाछोदिङ्मोका ४ र उत्तरगयाका ५ वडा बाढीको चपेटामा परेका थिए ।
रसुवामा १६७४ र बाहिरका १८४० जनाको सम्पर्कविहिनको सूचीमा
रसुवामा सरकारी तथ्यांकअनुसार पछिल्लो चरणमा २३६ शव फेला परेको छ । जिल्लाबाट स्थानीयतर्फ मात्रै १ हजार ६७४ जना सम्पर्कविहीन रहेको र अन्य जिल्लाका करिब १ हजार ८४० जना पनि रसुवामा सम्पर्कविहीन भएको विवरण छ ।
नुवाकोटमा ६५७ र बाहिरका ५९० सम्पर्कविहिन
नुवाकोटतर्फ पनि स्थानीय नागरिक ६५७ जना र अन्य जिल्लाका ५९० जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ । तर यी संख्या खोजी, उद्धार, पहिचान र दोहोरो विवरण हटाउने क्रममा परिवर्तन हुन सक्ने सरकारी भनाई छ ।
ठूलो क्षति विद्यालयमा पनि
बाढीले शिक्षा क्षेत्रलाई समेत गम्भीर असर पारेको छ । प्रारम्भिक सरकारी तथ्यांकमा रसुवा, नुवाकोट र धादिङका १८ विद्यालयमा क्षति पुगेको थियो । पछि अद्यावधिक विवरणमा विद्यालय तथा शैक्षिक संस्थाको क्षतिको संख्या अझ बढेर गएको छ ।
रसुवामा २८० र ३५० विद्यार्थी, शिक्षक १६ र ११ शिक्षक सम्पर्कविहिन
रसुवामा कम्तीमा ४ विद्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । नुवाकोटमा विद्यालय तथा अन्य शैक्षिक संस्थामा समेत ठूलो क्षति पुगेको छ । बाढीपछि रसुवा र नुवाकोटका करिब ६ सय विद्यार्थी सम्पर्कविहीन रहेको प्रारम्भिक शैक्षिक विवरण आएको थियो । रसुवामा २८० र नुवाकोटमा ३००–३५० विद्यार्थी सम्पर्कविहीन रहेको अनुमान गरिएको थियो ।
शिक्षा विभागसम्बन्धी पछिल्लो विवरणमा रसुवामा २८५ विद्यार्थी र १६ शिक्षक–कर्मचारी, तथा नुवाकोटमा २२७ विद्यार्थी र ११ शिक्षक सम्पर्कविहीन रहेको विवरणसमेत सार्वजनिक भएको छ । नुवाकोटमा २ विद्यार्थी र २ शिक्षक–कर्मचारीको मृत्यु पुष्टि भएको उल्लेख छ ।
घर मात्रै होइन, जीवनका आधार पनि बगे
बाढीले सडक, पुल, सञ्चार, विद्युत्, स्वास्थ्य संस्था र जलविद्युत् आयोजनामा समेत व्यापक क्षति पु¥याएको छ । प्रारम्भिक सरकारी आकलनमा ५५ किलोमिटर सडक, ३७ मोटरेबल पुल र ६८ झोलुङ्गे पुल प्रभावित भएका थिए । ४८ सरकारी संरचनामध्ये ३५ पूर्ण र १३ आंशिक क्षति भएका थिए ।
रसुवामा मात्रै सडक, पुल, भन्सार, होटल, बजार र जलविद्युत् आयोजनामा भएको क्षतिले जिल्लाको आर्थिक गतिविधिमै गहिरो असर पारेको छ । सरकारी प्रारम्भिक विवरणअनुसार बाढी प्रभावित क्षेत्रको कुल आर्थिक क्षति अर्बौँ रुपैयाँ पुगेको छ ।
अझै बाँकी छ सबैभन्दा कठिन काम
बाढीपछि उद्धारको चरण धेरै हदसम्म सकिए पनि बेपत्ताको खोजी, शव पहिचान, विस्थापित परिवारको पुनर्वास र विद्यालय पुनःसञ्चालन अहिले मुख्य चुनौती बनेका छन् । सरकारी विवरणअनुसार बाढी प्रभावित क्षेत्रका बेपत्ता व्यक्तिको सूचीमा पहिचान नभएका शव, दोहोरिएका नाम वा उद्धार भइसकेका व्यक्तिको विवरणसमेत पर्न सक्ने भएकाले अन्तिम संख्या अझै निश्चित छैन ।
भोटेकोशीको बाढीले रसुवा र नुवाकोटमा एउटा कठोर सत्य उजागर गरेको छ—विपत्ति सकिएपछि पनि विपद् सकिँदैन । घर गुमाएका परिवारलाई घर फर्काउन, बेपत्ताको परिवारलाई सत्य दिन, बालबालिकालाई विद्यालय फर्काउन र ध्वस्त पूर्वाधार पुनर्निर्माण गर्न अब राज्यका लागि उद्धारभन्दा पनि ठूलो परीक्षा सुरु भएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !