काठमाडौं– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभावले नेपालका विभिन्न भागमा वर्षा, हिमपात हुँदा जनजीवन प्रभावित भएको छ भने ठाउँठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
शुक्रबारदेखि सुरु भएको वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रमा पहिरो, हिमपातको समस्या देखिएको छ भने केही प्रमुख सडकमा यातायात अवरुद्ध भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती र मधेस प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ ।
गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ । देशका सातवटै प्रदेशका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ ।
मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड क्षेत्रमा भारी हिमपात भएको छ । नेपाल–चीन सीमास्थित कोरला नाका आसपास दुईदेखि तीन फिटसम्म हिउँ जमेको छ । हिमपातका कारण कोरला नाका ठप्प भएको छ । पहिरोका कारण जोमसोम–कोरला सडकखण्ड अवरुद्ध बनेको छ । छुसाङ र जोमसोम आसपासका क्षेत्रमा पनि वर्षाले यातायात प्रभावित भएको छ ।
म्याग्दीमा वर्षासँगै पहिरो खस्दा बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध भएका छन् । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सीमास्थित फापरखेत तथा सिरुवारी र खामभित्तामा पहिरो खसेको छ ।
त्यसैगरी, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली र वडा ८ गिम्दीबेँसीमा पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । वर्षा जारी रहेकाले तत्काल सडक खुलाउन कठिन भएको सुरक्षा निकायले जनाएका छन् ।
वर्षाका कारण धानबाली भित्र्याउने काम, ग्रामीण यातायात, पर्यटकीय गतिविधि र दैनिक आवतजावतमा समेत असर परेको छ । उच्च हिमाली क्षेत्रमा चिसो बढ्दा स्थानीय, पर्यटक र मालसामान ढुवानीमा संलग्न चालक थप जोखिममा परेका छन् ।
मौसम प्रतिकूल रहेकाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा अनावश्यक यात्रा र पदयात्रा नगर्न, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा मौसमसम्बन्धी आधिकारिक सूचनाको पालना गर्न सम्बन्धित निकायले आग्रह गरेका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !