काठमाडौं– १७ जना कैदीबन्दीको सुरक्षाका लागि १५ जना सुरक्षाकर्मी खटिएका थिए । तर, त्यही कारागारबाट ८ जना कैदीबन्दीले साढे ४ मिटर सुरुङ खनेर फरार भए । यो घटना हो, डोल्पा जिल्ला कारागारको । यो घटनाले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ ।
कारागारको क्षमता १५० जनाको छ । कारागारमा १७ जना मात्रै कैदीबन्दी थिए । सुरक्षाकर्मीको संख्या पनि कम थिएन । तर कैदीबन्दीले मुसाले दुलो खनेझैँ सुरुङ बनाएर बाहिरिने बाटो तयार पार्दा सुरक्षामा खटिएका कसैले सुइँकोसमेत पाएनन् ।
शनिबार बिहान करिब पौने ६ बजे मात्रै कैदीबन्दी फरार भएको थाहा भएको जेलर दीर्घराज आरसीले बताएका छन् । उनका अनुसार कैदीबन्दी सुत्ने कोठासँगै जोडिएको सेफ्टी ट्याङ्कीबाट सुरुङ खनेर पर्खालबाहिर निस्कने बाटो बनाइएको थियो । सुरुङको लम्बाइ ४ दशमलव ४३ मिटर रहेको बताइएको छ ।
फरार हुनेमा जबर्जस्ती करणी मुद्दाका ५ र चोरी मुद्दाका ३ जना थिए । उनीहरूमध्ये २ जना थुनुवा र ६ जना सजाय पाएका कैदी हुन् ।
घटनाबारे जेलर आरसीले राति पानी परेको, बत्ती गएको र जाडो बढेको बताएका छन् । कारागारका सुरक्षा पोस्टबीच करिब ४० देखि ४२ मिटर दूरी रहेको र बीचमा अर्को पोस्ट नभएको बताइएको छ । एउटा पोस्ट २० देखि २१ फिट अग्लो रहेकाले राति तलको गतिविधि देख्न कठिन हुने जेलरले सुनाए ।
तर झ्यालको रड निकालेर, सेफ्टी ट्याङ्की फोडेर र चार मिटरभन्दा लामो सुरुङ खनेर कैदीबन्दी बाहिरिँदासम्म सुरक्षाकर्मीले चाल नपाउनु सामान्य कमजोरी देखिँदैन । नियमित गस्ती र निगरानी कहाँ थियो भन्ने प्रश्नसमेत उठेको छ ।
अझ विडम्बना, कैदीबन्दी भागेपछि उनीहरूको खोजीका लागि प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी डेढदेखि २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।
१७ जनालाई निगरानी गर्न १५ सुरक्षाकर्मी पर्याप्त भएनन्, तर भागेका ८ जनालाई खोज्न सयौँ सुरक्षाकर्मी परिचालन गर्नुपर्ने अवस्था आयो ।
कारागारको सुरक्षा प्रणाली, पूर्वाधार र व्यवस्थापनमाथि निष्पक्ष छानबिन आवश्यक देखिएको बताइएको छ । आखिर कैदीबन्दीले सुरुङ खन्दासम्म सुरक्षाकर्मीले के हेरिरहेका थिए ? डोल्पा कारागारको घटनाले यही प्रश्न अनुत्तरित छाडेको छ ।

ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !