नुवाकोट– नुवाकोट र रसुवाको सिमानामा अवस्थित उत्तरगयाधाम, बेत्रावतीमा सञ्चालन भइरहेको पितृमोक्ष तथा शान्ति अनुष्ठानमा युवराज पारस शाह सहभागी हुनुभएको छ । बिहीबार उत्तरगयाधाम पुग्नुभएका शाहले वैदिक विधिअनुसार पूजा–आराधना गर्दै धार्मिक आस्था प्रकट गर्नुभएको हो ।
गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका सम्पूर्ण दिवंगत आत्माहरूको चिरशान्ति तथा मोक्ष प्राप्तिको कामना गर्दै उत्तरगयाधाममा पितृमोक्ष तथा शान्ति अनुष्ठान आयोजना गरिएको हो । दिवंगत आत्माहरूको शान्ति, विपद्बाट प्रभावित परिवारको कल्याण तथा उत्तरगयाधामको धार्मिक महत्त्वको पुनर्जागरण गर्ने उद्देश्यले आयोजित अनुष्ठानले धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षणमा समेत महत्त्वपूर्ण सन्देश प्रवाह गरेको छ ।
कार्तिक १६ गतेदेखि २० गतेसम्म सञ्चालन भइरहेको उक्त अनुष्ठान श्री गोरखनाथ पीठ, सिद्धाचलस्थली, मृगस्थली, काठमाडौंको आयोजनामा भइरहेको हो । वैदिक विधिअनुसार सञ्चालन गरिएको अनुष्ठानमार्फत उत्तरगयाधामको धार्मिक महत्त्व, ऐतिहासिक पहिचान तथा सांस्कृतिक गौरवलाई पुनः उजागर गर्ने प्रयास गरिएको आयोजकले जनाएको छ ।
हिमानी शाहद्वारा बाढीपीडितलाई राहत, मानवीय सेवामा हिमानी ट्रष्ट
यसैबीच, हिमानी ट्रष्टले नुवाकोटको उत्तरगया गाउँपालिका–५ का बाढीपीडित परिवारलाई राहत वितरण गरेको छ । ट्रष्टकी अध्यक्ष युवराज्ञी हिमानी शाहले बाढीबाट प्रभावित परिवारलाई राहत सामग्री वितरण गर्दै विपदमा परेका नागरिकप्रति सद्भाव, सहयोग र मानवीय सेवाभाव व्यक्त गर्नुभएको हो ।

गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराइएको कार्यक्रममा स्थानीयले हिमानी ट्रष्टको सहयोगप्रति आभार व्यक्त गरेका थिए । विपद्का कारण पीडा भोगिरहेका परिवारलाई राहत वितरण गर्नु सामाजिक उत्तरदायित्व र मानवीय सेवाको अनुकरणीय उदाहरण भएको स्थानीयको भनाइ छ ।
राहत वितरण कार्यक्रमप्रति प्रतिक्रिया दिँदै जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक घिमिरेले बाढीपीडित परिवारलाई गरिएको सहयोगप्रति प्रशंसा व्यक्त गर्नुभएको थियो । विपद्का बेला प्रभावित नागरिकलाई साथ दिनु र उनीहरूको पीडामा सहानुभूति प्रकट गर्नु महत्त्वपूर्ण मानवीय कार्य भएको उहाँको भनाइ थियो ।
धार्मिक आस्था र मानवीय सेवाको संगम
उत्तरगयाधाममा पूर्वयुवराज पारस शाहको धार्मिक सहभागिता तथा हिमानी ट्रष्टमार्फत बाढीपीडित परिवारलाई राहत वितरण हुनु मानवीय संवेदना, धार्मिक आस्था र सामाजिक सेवाको संगमका रूपमा देखिएको छ ।
एकातर्फ विनाशकारी बाढीबाट ज्यान गुमाएका दिवंगत आत्माहरूको चिरशान्ति तथा मोक्षको कामनासहित धार्मिक अनुष्ठान सञ्चालन भइरहेको छ भने अर्कोतर्फ विपद्बाट प्रभावित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराइएको छ।
उत्तरगयाधामको धार्मिक महत्त्वलाई पुनः उजागर गर्ने प्रयास र बाढीपीडित परिवारप्रति देखाइएको सहयोगी भावनाले स्थानीयस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ । स्थानीयले धार्मिक तथा सांस्कृतिक संरक्षणसँगै मानवीय सेवाका यस्ता कार्यले समाजमा सद्भाव, सहकार्य र सहयोगको भावना बलियो बनाउने विश्वास व्यक्त गरेका छन ्।
उत्तरगयाधाममा पारस शाहको धार्मिक सहभागिता र हिमानी शाहको राहत वितरणले धार्मिक आस्था, मानवीय संवेदना तथा सामाजिक उत्तरदायित्वको महत्त्वलाई एकसाथ उजागर गरेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !