नुवाकोट – हिन्दू धर्मावलम्बीहरूले धन, समृद्धि र आरोग्यको कामना गर्दै शुक्रबार धनतेरस पर्व मनाउँदै छन् । तिहारको सुरुवाती पर्वका रूपमा लिइने धनतेरसमा माता लक्ष्मी, भगवान् कुबेर र धन्वन्तरीको पूजा गर्ने धार्मिक परम्परा छ ।


धार्मिक मान्यताअनुसार धनतेरसका दिन नयाँ सामग्री खरिद गरी घरमा भित्र्याउँदा सुख, समृद्धि र धनधान्य वृद्धि हुने विश्वास गरिन्छ । यो दिन खरिद गरिएका सामग्री राखेर लक्ष्मी पूजा गरेमा माता लक्ष्मी प्रसन्न भई घरमा धनसम्पत्ति र समृद्धिको बास हुने जनविश्वास छ ।

धनतेरसका अवसरमा श्रद्धालुहरूले पवित्र मन र शुद्ध चित्तले पूजा अर्चना गर्ने तथा लक्ष्मी र गणेशको मूर्ति वा तस्बिर घरमा भित्र्याउने चलन छ । धार्मिक मान्यताअनुसार कमलको फूलमाथि विराजमान भएकी माता लक्ष्मीको मूर्ति स्थापना गर्नु शुभ मानिन्छ । आफ्नो आर्थिक क्षमताअनुसार माटोका मूर्ति वा तस्बिरसमेत खरिद गर्न सकिने विश्वास छ ।

यो दिन सुन, चाँदी, तामा, पित्तल तथा स्टिलका भाँडाकुँडा खरिद गर्ने प्रचलन छ । भाँडाकुँडा खरिद गर्दा सम्भव भएसम्म चाँदीको कुनै सामग्री पनि किन्नु शुभ मानिन्छ । धनतेरसमा खरिद गरिएका सामग्री घरको पूर्वोत्तर दिशा अर्थात् ईशान कोणमा राख्ने धार्मिक मान्यता छ ।
त्यस्तै, धनतेरसका दिन कौडी, कमल गट्टा तथा सिङ्गो धनियाँ खरिद गरी घरमा भित्र्याउनु पनि शुभ मानिन्छ । यी सामग्रीलाई लक्ष्मी पूजामा समावेश गरी घरमा राख्दा धनधान्य वृद्धि हुने र मानसिक शान्ति प्राप्त हुने जनविश्वास छ ।


धनतेरसलाई धन र समृद्धिकी देवी लक्ष्मी तथा धनका देवता कुबेरको विशेष आराधना गर्ने दिनका रूपमा पनि लिइन्छ । यो दिनबाट दीपावलीको धार्मिक उत्सव सुरु हुने भएकाले घरको सरसफाइ, पूजाआजा र नयाँ सामग्री खरिदमा विशेष ध्यान दिने गरिन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल