नुवाकोट ं– हिन्दूहरूको दोस्रो महान तिहारको आइतबार कुकुर तिहार तथा नरक चतुर्दशी श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ ।
मानवको साथी, घरको रक्षक तथा निःस्वार्थ प्रेमको प्रतीक रुपमा मानिने कुकुरलाई फूलमाला, टीका र मिठा परिकार अर्पण गरी सम्मान गरि कुकुर तिहार मनाइएको छ । एउटा जनावरको पूजा गर्ने पर्व मात्र नभई मानव र पशुबीचको आत्मीय सम्बन्ध, कृतज्ञता तथा करुणाको सन्देश बोकेको विशिष्ट सांस्कृतिक उत्सव हो ।
यमराजका द्वारपाल कुकुरको पूजा गर्नुको विभिन्न किंवदन्ती रहिआएको छ । हिन्दू धार्मिक मान्यताअनुसार कुकुरलाई मृत्युदेव यमराजका दूत तथा यमलोकका द्वारपालका रूपमा लिइन्छ । यमराजका श्याम र सबल नामका दुई कुकुरले परलोकको द्वारमा पहरा दिने गरेको विश्वास छ । किंवदन्तीअनुसार कुकुरलाई प्रसन्न पारेर पूजा गर्दा मृत्यु पश्चात् यमलोकको यात्रा सहज हुने र यमराजको कृपा प्राप्त हुने मान्यता रहिआएको छ । यही मान्यताका आधारमा कुकुर तिहारमा कुकुरलाई पूजागरी सम्मान गर्ने परम्परा सुरु भएको जनविश्वास रहेको छ ।
धर्मराज युधिष्ठिर र स्वर्ग यात्रामा साथ दिने कुकुर
कुकुर तिहारसँग जोडिएको अर्को मार्मिक तथा रोचक कथा महाभारतसँग सम्बन्धित छ । महाभारतको स्वर्गारोहण पर्वअनुसार पाण्डवहरू स्वर्गको यात्रामा निस्के । बाटोमा पाण्डपका साथमा एक कुकृर पनि पछि लाग्यो । हिंड्दै जाँदा क्रमशः द्रौपदी र चार भाइको निधन हुँदै गयो । अन्तिमसम्म धर्मराज युधिष्ठिरसँग एउटा कुकुर भने साथमै रह्यो । स्वर्गको द्वारमा पुगेपछि युधिष्ठिरलाई कुकुरलाई त्यागेर मात्र स्वर्ग प्रवेश गर्न सकिने भनियो । तर युधिष्ठिरले आफ्नो अन्तिम यात्रासम्म साथ दिएको निष्ठावान् प्राणीलाई त्याग्न अस्वीकार गरे । आफ्नो सुख र स्वर्गको लोभभन्दा साथ दिएको जीवप्रतिको करुणा र धर्मलाई ठूलो ठान्ने युधिष्ठिरको निर्णयले उनको धर्मनिष्ठा उजागर गर्यो । अन्ततः उक्त कुकुर धर्मका देवता स्वयं भएको रहस्य खुल्यो र युधिष्ठिरको धर्मपालनको परीक्षा सफल भई स्वर्गलोक पाएको जनविश्वास रहिआएको छ ।
नरक चतुर्दशी ः नरकबाट मुक्ति र यमदीपदानको धार्मिक विश्वास
नरक चतुर्दशीको धार्मिक मान्यताअनुसार यस दिन सूर्योदयअघि स्नान गर्ने, तिलको तेल लगाउने र यमराजका नाममा दीपदान गर्ने परम्परा छ ।
दक्षिण दिशातर्फ यमदीप बालेर अर्पण गर्दा मृत्युपश्चात् नरकको कष्ट भोग्न नपर्ने तथा पापबाट मुक्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ । कतिपय समुदायमा बिहानै तीर्थ, नदी वा तलाउमा स्नान गरी यमदीपदान गर्ने र नरक बगाउने परम्परा प्रचलित छ ।
कुकुर तिहारको विशेषता सडकमा रहेका कुकुरलाई पनि सम्मान गर्नु हो । प्रहरी, सुरक्षा निकाय तथा विभिन्न उद्धार संस्थामा कार्यरत तालिमप्राप्त कुकुरहरूलाई समेत नरक चतुर्दशीमा सम्मान गरिन्छ । कुकुरको घ्राणशक्ति, सतर्कता, वफादारी र मानिसप्रतिको आत्मीयताले मानव जीवनमा उनीहरूको भूमिका अत्यन्त महत्वपूर्ण बनाएको छ ।
साँझ लक्ष्मीपूजा ः उज्यालो र समृद्धिको पर्व
तिथिको घटबढका कारण यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । बिहान नरक चतुर्दशी कुकुर पूजन गरेपछि साँझ घरघरमा धनधान्यकी देवीलक्ष्मीको पूजा गरिँदैछ ।
घर सफा गरी दीपावलीको उज्यालोले सजाउने, लक्ष्मीको पाइलाका प्रतीक बनाउने र भैलो खेल्ने परम्पराको यो दिनलाई अझ विशेष बनाउने छ ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !