नुवाकोट–सूर्यलाई जीवन र ऊर्जाको स्रोत मान्दै पूजा गर्ने परम्परा मानव सभ्यतासँगै विकसित भएको मानिन्छ । यही प्राचीन सूर्य उपासनाको एउटा विशिष्ट धार्मिक तथा सांस्कृतिक स्वरूपका रूपमा छठ पर्वलाई लिने गरिन्छ । प्रकृति, आस्था, परिवार र मानव जीवनसँग जोडिएको यो

पर्व आज नेपाल र भारतका विभिन्न क्षेत्रमा श्रद्धा र भक्तिपूर्वक मनाइँदै आएको छ ।
छठ पर्वको सुरुवात ठ्याक्कै कुन समयदेखि भयो भन्ने विषयमा ऐतिहासिक प्रमाण भने छैन । त्यसको निश्चित मिति पनि उपलब्ध भएको छैन । तर सूर्यको महिमा र उपासनाबारे प्राचीन वैदिक ग्रन्थ ऋग्वेदमै उल्लेख पाइने भएकाले यसको धार्मिक आधार निकै पुरानो रहेको मानिन्छ ।
छठ पर्वको विशेषता के हो भने यसमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ अघ्र्य अर्पण गरिन्छ । सामान्यतया उदाउँदो सूर्यलाई नयाँ आशा र ऊर्जाको प्रतीक मान्ने गर्छन् । तर छठमा अस्ताउँदो सूर्यलाई पनि उत्तिकै सम्मान गरिन्छ । यसैले जीवनमा प्राप्त उपलब्धि, प्रकृति र समयप्रतिको कृतज्ञता व्यक्त गर्ने सन्देश दिएको धार्मिक तथा सांस्कृतिक व्याख्या गरिदै आएको छ ।

किवदन्ती अनुसार पौराणिक महाभारतकालीन कर्णसँग जोडिएको सूर्य उपासनाको परम्परा
छठ पर्वको उत्पत्तिसँग जोडेर सुनाइने चर्चित पौराणिक कथामध्ये पर्ने गरेको छ, महाभारतका पात्र कर्णको कथासँग । कुन्ती र सूर्यदेवका पुत्र मानिने कर्ण सूर्यका परम भक्त थिए । कर्णले दैनिक रूपमा नदीमा उभिएर उदाउँदो सूर्यलाई जल अर्पण गरी पूजा गर्ने गर्थे । सूर्यप्रतिको उनको भक्ति, अनुशासन र तपस्यालाई छठमा गरिने जलाशयमा उभिएर अघ्र्य दिने परम्परासँग जोडेर व्याख्या गरिंदै आएको छ ।

द्रौपदीको सूर्य आराधनाको कथा
छठ पर्वसँग महाभारतकै अर्को पौराणिक प्रसङ्ग पनि जोडिएको छ । पाण्डवहरू वनवासमा रहँदा अनेकौँ दुःख र सङ्कट सामना गर्नुपर्यो । त्यस्तो कठिन समयमा द्रौैपदीले सूर्यदेवको आराधना गरेको धार्मिक कथन पनि पाइन्छ ।
महर्षि धौम्यको सल्लाहमा द्रौैपदीले सूर्यदेवको उपासना गरी परिवारको कल्याण र सङ्कटबाट मुक्ति पाउन प्रार्थना गरेको जनविश्वास रहेको छ । यस कथाले छठ पर्वलाई पारिवारिक सुख, शान्ति र समृद्धिको कामना गर्ने पर्वका रूपमा हेरिन्छ ।

राम र सीताको अयोध्या आगमनसँग जोडिएको किंवदन्ती
छठ पर्वबारे अर्को लोकप्रिय किंवदन्ती रामायणसँग सम्बन्धित छ । १४ वर्षको वनवास पूरा गरी भगवान् राम र माता सीता अयोध्या फर्किए । त्यसपछि सूर्यदेवको उपासना गरेको धार्मिक जनविश्वास रहेको छ । लोकपरम्परामा सीताले कार्तिक शुक्ल षष्ठीका दिन सूर्यदेवको आराधना गरेको प्रसङ्ग सुनाइदै आएको छ । यही परम्परालाई पनि छठ पर्वको विकाससँग जोडेर हेर्ने गरिन्छ । यो प्रसङ्गलाई पर्वको ऐतिहासिक सुरुवातको प्रमाणका रूपमा नभई धार्मिक किंवदन्तीका रूपमा हेरिएको छ ।

छठी माताको उत्पत्तिबारे राजा प्रियव्रतको कथा
छठ पर्वमा सूर्यदेवसँगै छठी माताको पूजा पनि विशेष रूपमा गरिन्छ । यसैसँग जोडिएको अर्को रोचक कथा राजा प्रियव्रत र उनकी पत्नी रानी मालिनीसँग सम्बन्धित रहेको छ । पौराणिक कथाअनुसार लामो समयसम्म सन्तान नभएपछि राजा प्रियव्रतले महर्षिको सल्लाहमा पुत्रेष्टि यज्ञ गराए । यज्ञको तपले रानी मालिनी गर्भवती भइन् । तर जन्मिएको शिशु मृत अवस्थामा जन्मिए । यस घटनाले राजा र रानीलाई गहिरो शोकमा डुबायो ।
त्यसै समयताका एक नदी किनारमा षष्ठी देवीले राजदम्पतीलाई दर्शन दिइन् । देवीले आफू छठी माता भएको परिचय दिँदै आफ्नो पूजा गर्न सुझाव दिएको कथा प्रचलित छ । देवीको आराधनापछि सन्तान प्राप्त भएको जनविश्वासका आधारमा छठी मातालाई सन्तानको रक्षा गर्ने तथा परिवारको कल्याण गर्ने देवीका रूपमा पूजा गर्ने परम्परा रहेको छ ।

चार दिनसम्म चल्ने पर्वको विशेषता
छठ पर्व ४ दिनसम्म विभिन्न विधि र नियम पालना गरी मनाइदै आएको छ ।
पहिलो दिन– यो नहाय–खायबाट पर्व सुरु हुन्छ । यस दिन व्रतालुहरूले स्नान गरी शुद्ध भोजन ग्रहण चलन छ ।
दोस्रो दिन– यो दिन खरना मनाइन्छ । यो दिनदिनभर उपवास बसेर साँझ पूजा गरी खीर, रोटी तथा अन्य प्रसाद ग्रहण गर्ने चलन छ । त्यसपछि व्रतालुले मुख्य व्रत सुरु गर्छन् ।
तेस्रो दिन– व्रतालुले साँझ नदी, पोखरी तथा जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छन् । बाँसका डाला र सुपलीमा केरा, नरिवल, उखु, स्याउ, ठेकुवा, भुसुवा तथा अन्य पूजासामग्री सजाएर सूर्यदेव र छठी मातालाई अर्पण गर्छन् ।
चौथो दिन– यो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि व्रतालुको व्रत सम्पन्न हुन्छ । त्यसपछि प्रसादग्रहण गरेर परिवारका सदस्य तथा आफन्तबीच बाँड्ने परम्परा रहिआएको छ ।
अस्ताउँदो सूर्यलाई पनि उत्तिकै सम्मान किन ?

छठ पर्वको सुन्दर पक्ष अस्ताउँदो सूर्यलाई पनि उदाउँदो सूर्यसरह सम्मान गर्नु रहेको छ । यसले जीवनको हरेक अवस्था महत्वपूर्ण हुन्छ भन्ने सांस्कृतिक सन्देश दिन्छ ।

उदाउँदो सूर्यलाई नयाँ आशा, ऊर्जा र सुरुवातको प्रतीक मानिन्छ भने अस्ताउँदो सूर्यलाई जीवनमा प्राप्त योगदान, उपलब्धि र अनुभवप्रतिको सम्मानका रूपमा दर्शाउँछ । सूर्यले कुनै भेदभाव नगरी सम्पूर्ण जीवजगतलाई प्रकाश र ऊर्जा प्रदान गर्ने भएकाले यस पर्वलाई प्रकृतिप्रतिको कृतज्ञताको प्रतीक पनि मानिन्छ ।

राष्ट्रिय सांस्कृतिक पर्वसम्म

परम्परागत रूपमा नेपालको तराई–मधेश र इण्डियाको बिहार, झारखण्ड तथा पूर्वी उत्तर प्रदेश क्षेत्रमा विशेष रूपमा मनाइन्छ । छठ अहिले काठमाडौंउपत्यकासहित देशका विभिन्न पहाडी क्षेत्रमा समेत लोकप्रिय बन्दै गएको छ ।
यो पर्वमा जात, भाषा, वर्ग र समुदायभन्दा माथि उठेर भक्तजनहरु एउटै घाटमा भेला हुने गर्छन् । घाटको सरसफाइ, सामूहिक व्यवस्थापन, पूजा सामग्रीको तयारी र प्रसाद वितरणमा सबैको सहभागिता देखिने गरेको छ । यसरी हेर्दा छठ पर्व केवल धार्मिकआस्थामा सीमित छैन । यसले सामाजिक सद्भाव, पारिवारिक एकता, प्रकृतिप्रतिको सम्मान, स्वच्छता र सामूहिक सहकार्यको सन्देश दिएकाले आज एउटा समुदायकोको पर्वमा मात्र सिमित नरहेर नेपाली समाजको साझा सांस्कृतिक पहिचानका रूपमा स्थापित हुँदै गएको छ ।

छठ पर्वको उत्पत्तिबारे प्रचलित कर्ण, द्रौपदी, राम–सीता र छठी मातासम्बन्धी कथाहरू फरक–फरक धार्मिक परम्परासँग जोडिएका छन् । यी कथाहरूलाई एउटै ऐतिहासिक घटनाको प्रमाणका रूपमा नलिएपनि पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक स्मृति र धार्मिक विश्वासको रुपमा महत्व छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल