नुवाकोट – १५ औं राष्ट्रिय कर दिवस २०८३ का अवसरमा धादिङको गल्छीमा प्रभातफेरी आयोजना गरिएको छ भने काठमाडौंमा विभिन्न १९ विधाका उत्कृष्ट करदातालाई सम्मान गरिएको छ ।

कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिकको सहभागिता भन्ने नारा सहित आन्तरिक राजस्व कार्यालय धादिङस्थित गल्छीको आयोजनामा भएको प्रभातफेरीमा सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, बुद्धिजीवी, विद्यार्थी, शिक्षक, सुरक्षा निकायका प्रतिनिधि तथा करसम्बन्धी परामर्शदातालगायतको सहभागिता थियो। कर तिर्न नागरिकलाई प्रोत्साहित गर्ने नारासहित प्लेकार्ड र ब्यानर बोकेर सहभागीहरूले गल्छी बजार परिक्रमा गरेका थिए ।

सरकारले मूल्य अभिवृद्धि कर ऐन, २०५२ लागू भएको दिन मंसिर १ गतेको सम्झनामा २०६९ सालदेखि राष्ट्रिय कर दिवस मनाउँदै आएको छ।
यसै अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८१÷८२ मा उत्कृष्ट कर योगदान गर्ने करदातालाई सम्मान गरेको हो ।
यसअघि १६ विधामा उत्कृष्ट करदातालाई सम्मान गरिँदै आएकोमा यस वर्ष विधा विस्तार गरी १९ पु¥याइएको छ । विभिन्न क्षेत्र तथा व्यवसायमा सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनी, संस्था तथा व्यक्तिगत करदातालाई सम्मान गरिएको हो। सम्मानित हुनेमा ठूला व्यावसायिक घराना, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, उद्योग, पर्यटन व्यवसायी तथा व्यक्तिगत करदाता रहेका छन् ।
विभागका अनुसार निकायमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ । एकलौटी फर्मतर्फ थर्ड आई इन्टरनेसनल, वस्तु निर्याततर्फ डाबर नेपाल र सूचना प्रविधिसम्बन्धी सेवा निर्याततर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपाल उत्कृष्ट करदाता बनेका छन्।
कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसिबी फुड्स एन्ड फिड्स प्रालि, बैंकिङ क्षेत्रतर्फ नबिल बैंक र स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल सम्मानित भएका छन्। पर्यटन व्यवसायअन्तर्गत सोल्टी होटल लिमिटेडले सम्मान पाएको छ भने वस्तु व्यापारतर्फ सीजी इम्पेक्स प्रालि उत्कृष्ट करदाता बनेको छ।
त्यसैगरी, वार्षिक ५० करोडदेखि १ अर्ब रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि सम्मानित भएको छ। ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि र रेमिट्यान्स तथा मनी ट्रान्सफर व्यवसायतर्फ आईएमई लिमिटेडले सम्मान पाएका छन्।
व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने राजबहादुर शाह सम्मानित भएका छन्। मूल्य अभिवृद्धि कर विवरण पेस गरी सोबमोजिमको कर समयमै दाखिला गर्दै नियमित कर सहभागिता जनाउने करदातामध्ये हिमालयन डिस्टिलरी लिमिटेडले सम्मान पाएको छ ।
वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड तथा विशेष उद्योगतर्फ वरुण बेभरेज नेपाल प्रालि उत्कृष्ट करदाता बनेका छन्।
जीवन बीमा क्षेत्रतर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, निर्जीवन बीमा क्षेत्रतर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र लघुवित्त क्षेत्रतर्फ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड सम्मानित भएका छन् ।
उत्कृष्ट करदाता सम्मान कार्यक्रममा अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नरलगायत उच्चपदस्थ कर्मचारीको उपस्थिति थियो ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !