नुवाकोट— चीनमा जारी एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार महत्वपूर्ण भेटवार्ता भएको छ । यो वर्ष दुई देशका राष्ट्रपतिबीच भएको यो तेस्रो भेटवार्ता हो ।
भेटवार्तामा राष्ट्रपति सीले चीन र अमेरिकाबीचको सम्बन्ध समग्रमा स्थिर तथा सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन् । दुई देशबीचको सम्बन्धले विश्वमा स्थिरता र निश्चितताको वातावरण सिर्जना गर्न सहयोग पु¥याएको उनको भनाइ छ ।
सीले विश्वका दुई ठूला मुलुकले आपसी सम्बन्धलाई अघि बढाउने सही बाटो संयुक्त रूपमा खोजेको उल्लेख गर्दै रणनीतिक स्थिरतामा आधारित रचनात्मक सम्बन्ध निर्माण गर्न दुवै पक्ष सहमत भएको बताए । यस्तो सम्बन्ध आपसी सम्मान, निष्पक्षता र पारस्परिक हितमा आधारित हुनुपर्नेमा उनले जोड दिए।
चीन र अमेरिकाबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रयासलाई दुवै देशका नागरिक तथा अन्तर्राष्ट्रिय समुदायले स्वागत गरेको पनि सीले बताए। दुई देशका राष्ट्रपतिबीच भएका सहमतिलाई व्यवहारमा कार्यान्वयन गर्नु नै सम्बन्धमा कायम सकारात्मक गति निरन्तर राख्ने मुख्य आधार भएको उनको भनाइ थियो।
भेटवार्ताका क्रममा ताइवानको विषय पनि उठेको थियो । राष्ट्रपति सीले अमेरिकाले ताइवानको विषयमा सही कदम चाल्नुपर्ने र यसले चीन–अमेरिका सम्बन्धमा गम्भीर अवरोध सिर्जना हुन नदिनुपर्ने बताएका थिए ।
जवाफमा अमेरिकी राष्ट्रपति ट्रम्पले आफू र सीले संयुक्त रूपमा दुई देशबीचको सम्बन्धको विकासलाई दिशा दिएको उल्लेख गर्दै सकारात्मक सम्बन्धलाई निरन्तरता दिनुपर्ने बताए । उनले अमेरिकाले ’ताइवान स्वतन्त्रता’ लाई समर्थन नगर्ने स्पष्ट पारे ।
चीन र अमेरिकाबीच व्यापार, प्रविधि, सुरक्षा तथा ताइवानको विषयलाई लिएर विभिन्न मतभेद रहँदै आएका छन्। यस्तो अवस्थामा एपेक सम्मेलनको अवसरमा दुई राष्ट्रपतिबीच भएको भेटवार्तालाई विश्व राजनीतिक तथा कूटनीतिक दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।
विश्वका दुई शक्तिशाली मुलुकबीचको सम्बन्धमा स्थिरता कायम भए त्यसले अन्तर्राष्ट्रिय व्यापार, लगानी र विश्व अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ ।
— एजेन्सी
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !