नुवाकोट – कृषि उत्पादन बढाउन किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले पाँचथरको मिक्लाजुङ गाउँपालिकाले नयाँ अभ्यासलाई निरन्तरता दिएको छ । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिक यतिबेला किसानका धानका खलामा पुगेर धानको उत्पादन नापजाँच गर्न व्यस्त छन् ।


गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ देखि सुरु गरेको कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत बढी अन्नबाली उत्पादन गर्ने किसानलाई पुरस्कृत गर्दै आएको छ । पालिकाले नगद पुरस्कार प्रदान दिने गरेको छ । किसानले धान भित्र्याउने समयमा पालिकाको टोली किसानका खेत तथा खलामै पुगेर उत्पादनको विवरण सङ्कलन र प्रमाणीकरण गर्ने गरेका छन् ।

त्यसै क्रममा मिक्लाजुङ–७ लिम्बाका किसान बमबहादुर बोहोराको खलामा वडा अध्यक्ष हेमचन्द्र रेग्मी, वडा सचिव ख्यामप्रसाद चम्लागाईं र कृषि प्राविधिक रीता राईको उपस्थितिमा धान नापजाँच गरिएको छ ।
बोहोराको एक खलामा मात्रै २५ मुरी धान उत्पादन भएको र यस वर्ष उनले ७० मुरीभन्दा बढी धान भित्र्याउने बताइएको छ ।
गाउँपालिकाले ५० मुरीभन्दा बढी धान उत्पादन गर्ने किसानलाई ५० हजार रुपैयाँ, निर्धारित मापदण्डअनुसार मकैको थाङ्ग्रो राख्नेलाई ३० हजार, ३५ मनभन्दा बढी आलु उत्पादन गर्नेलाई २५ हजार तथा १० घनमिटरभन्दा बढी प्राङ्गारिक मल उत्पादन गर्नेलाई २५ हजार रुपैयाँ पुरस्कार दिएर किसानलाई पुरस्कृत दिँदै आएको छ ।

गाउँपालिकाका प्रवक्ता अविशन लावतीका अनुसार किसानलाई उत्पादन बढाउन प्रोत्साहित गर्ने कार्यक्रमबाट लाभान्वित हुनेको संख्या वर्षेनि बढिरहेका छन् ।

पालिकाले गएको वर्ष मात्रै ५८६ जना किसानलाई एक करोड ८५ लाख ६५ हजार रुपैयाँ पुरस्कार वितरण गरि पुरस्कृत गरेको थियो ।
पुरस्कार पाउन किसानले आफूले उत्पादन भित्र्याउनु अघि वडा कार्यालयमा जानकारी गराउनुपर्छ । त्यसपछि पालिकाको टोलीले स्थलगत अनुगमन गरी उत्पादनको परिमाण यकिन गर्छन् । कार्यक्रमबाट कृषि उत्पादन वृद्धि र किसानको उत्साह बढेको गाउँपालिकाको बुझाई छ ।

पाँचथरकै फाल्गुनन्द गाउँपालिकाले पनि बढी धान उत्पादन गर्ने किसानलाई ३० हजारदेखि ५० हजार रुपैयाँसम्म प्रोत्साहन पुरस्कार दिँदै आएको छ । स्थानीय सरकारको यस्तो अभ्यासले कृषि उत्पादन वृद्धि, किसानको मनोबल र खाद्यान्नमा आत्मनिर्भर बन्ने अपेक्ष्ाँ गरिएको छ ।

राससको सहयोगमा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल