नुवाकोट–विश्वविद्यालयमा विद्यार्थीले तयार पारेका शोधपत्र, थेसिस तथा अनुसन्धानमूलक लेखमा कृत्रिम बौद्धिकता (एआई) प्रयोग भएको भन्दै परीक्षण गर्ने सफ्वेयरको विश्वसनीयतामाथि प्रश्न उठेको छ । त्रिभुवन विश्वविद्यालयलगायत शैक्षिक संस्थाले प्रयोग गर्दै आएका एआई डिटेक्सन प्रणालीविरुद्ध विद्यार्थीहरूले उठाएको विवाद अब सर्वोच्च अदालत पुगेको छ ।


एआई डिटेक्सन सफ्टवेयरको प्रयोग रोक्न माग गर्दै कानुनका विद्यार्थीहरूले दायर गरेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले सोमबार (मंसिर ७ गते) आदेश दिएको हो । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले यसअघि सर्वोच्च अदालत प्रशासनबाट भएको दरपीठ आदेश बदर गर्दै रिट विधिवत् दर्ता गर्न निर्देशन दिएको छ ।

त्यसअघि मंसिर २ गते सर्वोच्च अदालतका रजिस्ट्रारले निवेदनमा कुन मौलिक वा कानुनी हक हनन भएको हो भन्ने स्पष्ट नभएको भन्दै रिट दर्ता गर्न अस्वीकार गरेका थिए ।

कानुनका विद्यार्थी रोशन आउजी, विवेक चौधरीलगायतले दायर गरेको रिटमा विश्वविद्यालयहरूले स्पष्ट राष्ट्रिय नीति तथा कानुनी मापदण्डबिना विदेशी कम्पनीका एआई डिटेक्सन सफ्टवेयर प्रयोग गरिरहेको दाबी गरिएको छ ।
विद्यार्थीहरूको आरोपअनुसार त्रिभुवन विश्वविद्यालयले प्रयोग गर्ने टर्निटिन र आइथेन्टिकेट जस्ता सफट्वेयरले विद्यार्थी आफैँले मौलिक रूपमा लेखेका शोधपत्र तथा अनुसन्धानमूलक सामग्रीलाई समेत एआईबाट तयार पारिएको हुन सक्ने देखाइने गरेको छ । त्यस्ता अनुमानित रिपोर्टका आधारमा शोधपत्र अस्वीकार हुँदा विद्यार्थीको शैक्षिक भविष्य प्रभावित हुन सक्ने चिन्ता छ ।

एआई प्रयोग गर्नु नै साहित्यिक चोरी हो
रिट निवेदकहरूले एआईको सहयोग लिनु र अरूको बौद्धिक सिर्जना नक्कल गर्नु फरक विषय भएको जिकिर गरेका छन् । उनीहरूका अनुसार एआई प्रयोग भएको सम्भावना देखाउने सफ्टवेयरको नतिजालाई मात्रै आधार मानेर विद्यार्थीलाई दोषी ठहर गर्नु न्यायोचित हुँदैन।
सफ्टवेयरले दिने नतिजा शतप्रतिशत विश्वसनीय नहुने भएकाले त्यसको आधारमा विद्यार्थीको अनुसन्धान अस्वीकार गर्नुअघि आफ्नो पक्ष राख्ने अवसर दिनुपर्ने माग पनि गरिएको छ।

विद्यार्थीको गोपनीयतामाथि प्रश्न
विवाद केवल शैक्षिक मूल्याङ्कनमा सीमित छैन । विद्यार्थीले सफ्टवेयरमा अपलोड गरेका शोधपत्र, व्यक्तिगत विवरण तथा डिजिटल गतिविधि विदेशी सर्भरमा भण्डारण हुने विषयले गोपनीयता र व्यक्तिगत तथ्याङ्क सुरक्षासम्बन्धी प्रश्नसमेत उठाएको छ ।

रिट निवेदकहरूले एआई डिटेक्सनको वास्तविक आवश्यकता, औचित्य र विश्वसनीयताबारे अध्ययन गर्न कानुन, सूचना प्रविधि, साइबर सुरक्षा, भाषाविज्ञान, शिक्षा तथा अनुसन्धान क्षेत्रका विज्ञ र विद्यार्थी प्रतिनिधि सम्मिलित उच्चस्तरीय समिति गठन गर्न माग गरेका छन् ।


विश्वविद्यालय र सरकारको जिम्मेवारी के?
त्रिविले भने अनुसन्धानमा साहित्यिक चोरी रोक्न र शैक्षिक मौलिकता कायम गर्न एन्टी–प्लेजारिज्म प्रणाली आवश्यकता र मानिएको जनाएको छ । विश्वविद्यालयले २०८० सालमा एन्टी–प्लेजारिज्म सफ्टवेयर व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विनियमसमेत लागू गरेको छ ।
तर एआईको प्रयोग बढ्दै जाँदा त्यसको स्वीकार्य सीमा, परीक्षणको वैज्ञानिक आधार, विद्यार्थीको अधिकार र सफ्टवेयरको नतिजालाई चुनौती दिन स्पष्ट मापदण्ड आवश्यक देखिएको छ ।
सर्वोच्च अदालतमा रिट दर्ता गर्न आदेश हुनु विवादको न्यायिक सुनुवाइका लागि बाटो खुल्नु हो, सफ्टवेयरको प्रयोग गैरकानुनी ठहर हुनु वा विद्यार्थीको मागमा अन्तिम फैसला आउनु भने होइन । एआईले शिक्षा र अनुसन्धानमा नयाँ सम्भावना खोलिरहेको समयमा प्रविधिलाई प्रतिबन्धित गर्नेभन्दा यसको जिम्मेवार र पारदर्शी प्रयोग सुनिश्चित गर्ने नीति आवश्यक देखिन्छ। अब मुख्य प्रश्न एआई प्रयोग भयो कि भएन भन्ने मात्र होइन, विद्यार्थीको मौलिकता कसरी प्रमाणित गर्ने र वेयरको त्रुटिपूर्ण नतिजाबाट उनीहरूको भविष्य कसरी सुरक्षित गर्ने सफ्वेयर भन्ने पनि हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल